राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ ।
फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने सहमति गरेको थियो । सचिव दीनानाथ शर्माले उम्मेदवार छनोटको विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बैठक बोलाएको जानकारी दिए ।
उम्मेदवार ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा कुनै टुङ्गो नलागेको शर्माको भनाइ छ । यद्यपि ६ वर्षबाट उम्मेदवार बनाउने पार्टीभित्र धेरैको सुझाव आएको उनले जानकारी दिए ।
वर्तमान उपाध्यक्ष माओवादीबाट उर्मिला अर्याल रहेकी छन् । उम्मेदवार छनोटका लागि अर्यालले राजीनामा दिनुपर्ने भएकाले समस्या देखिएको छ । राजीनामा दिने वा अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीबाट कुनै जानकारी नआएको अर्यालले बताइन् ।