Public Pana
एमालेले बाेलायाे महाधिवेशन प्रतिनिधि परिषद बैठक, अरू दललाई पनि सरकारमा आउन आग्रह

नेकपा एमालेकाे सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेकाे  छ। शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। 

बैठकपछि  पत्रकारसँग कुरा गर्दै पोखरेलले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको  बताए। ‘महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका सचिवालय बैठकले गरेकाे छ  ’ उनले भने। 

 

प्रमुख सत्ता घटक बनेकाे कुरालाई बैठकले सकारात्मक रुपमा लिएकाे र माओवादीसँगकाे सहकार्य वाम गठवन्धन हुँदै वाम एकतातर्फ लैजानुपर्ने राय सचिवालयमा आएकाे उनले बताए।  

मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन भएको भन्दै उक्त सरकारलाई साथ र समर्थनका लागि अन्य दललाई अनुरोध गरेको उनले बताए।

बैठकमा मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा बैठकमा छलफल भएको र यसलाई सकारात्मक रुपमा लिदै अब जनताकाे समस्यामा सरकारले काम गर्नुपर्ने  पोखरेलले बताए।

फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएकाे थियाे।   ‘त्यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ। मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा छ,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update