Public Pana
पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, सशस्त्र प्रहरीको हेल्थडेस्क पनि

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ चार हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको हो।  

बिहीबार देखि नै पशुपति क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी परिचालित भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।  

 

गएराति १० बजेदेखि परिचालित सुरक्षाकर्मी फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेका हुन्।
 
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटिने छ। आपतकालीन उद्धार टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मैनालीले जानकारी दिए। 

यसैबीच शिवरात्रीको अवसरमा सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

बिहीबार बिहान १० बजेदेखि शनिबार बिहान ६ बजेसम्म हेल्थडेस्क सञ्चालनमा रहने छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update