नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ। उनी नेपाली सेनाको परमाधिपति हुन्।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ।
सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ। वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो।
देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ।
सैनिक वीरपूर्खाहरुको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो। राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भित्र पर्छ। सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रुपमा रहने गर्छ।
नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ। समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तिस जातिको फुलबारी जस्तै बनेको छ। महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदै गएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो। हालसम्म एक लाख २९ हजार ८९० सैनिकबाट योगदान भइसकेको छ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६५ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक घाइते भएका छन्। विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा पाँच हजार ९५ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पाँचौँ स्थानमा छ।
विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ। वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कर्याैँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ।
विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ। सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रूतमार्गको काम भइरहेको छ।
दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ। मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ।
सैनिक अभ्यास सुरुवात
पूर्वीय सीमा बाट बहने मेची खोला र पश्चिमी सीमाबाट बहने महाकाली यस देशका सीमाहरू हुन् । नेपालको इतिहासको लिखित सुरुवात भने ईशापूर्वको ३५० वर्षअघिबाट भएको पाइन्छ । पौराणिक समयमा गोपाल, महिसपाल, किराँत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाउँमा राज्यहरू माथि आक्रमण गर्ने, कब्जा गर्ने अनि आफ्नो राज्यको सीमा बिस्तार गर्ने जस्ता कुराहरू समय समयमा भइरहन्थे । रेकर्डहरू केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरू भेटिन्छ । उति वेला तिब्बत र भारत दुवैतर्फमा राज्यहरूमा आआफ्नै सेना खडा भइसकेका थिए। लिच्छवि बशंको शासन ताका सेनाको संस्थागत प्रयास नेपाली भूमिमा सुरु भएको इतिहास भेटिन्छ । राजाहरू मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुवर्मा का प्राचीन शोध र तथ्यहरू लगायत शिलालेखमा यी कुराहरू उल्लेख छ ।
यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरू यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास सुरुवात भएको मानिएको छ ।
नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारम्भिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरू देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरू लाई विभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाना हिसाबले संवेदनशील ठाउँमा राख्न थालिएको हो । किल्लाका कमान्डर लाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुने गर्दथे, उनैको नेतृत्वमा सैनिकहरू खटाइएका हुन्थ्यो ।मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल वंशहरूलाई काठमाडौँका मल्लहरूले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरू सँग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौँ मल्लहरूको रणनीतिक अनि आधुनिक रण कौशल अघि उनीहरू सहजै हारेका थिए । यस समयमा नेपाल विभिन्न राजा रजौटाहरूमा बाँडिएको थियो, सेनाहरू राजा, युवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन् । काठमाडौँ र डोटी लगायतमा त भारतीय सेनाहरूको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो । तर जब १७ औँ शताब्दीमा युरोपबाट एसिया र अफ्रिकामा उपनिवेशवाद को लर्को सुरु भयो तब विदेशी सेना अनि घुस पैठी लगायत राज्यहरूमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठुलो चुनौती खडा भयो ।
इस्ट इन्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कब्जा गर्दै गर्दा यता नेपालका राजारजौटाहरु लाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको सुरुवात र संस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्त्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतीय भूमिसँग नाता गाँसेर युद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का सुरुवाती दिनहरू त्यही वाट सुरु भएको हो ।
ब्रिटिसहरूले गोर्खाली सेनाका विरुद्धमा विभिन्न युद्धहरू लडेका ब्रिटिसहरूले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो । तर नाम भने गोर्खा नै रह्यो, यस कारणले पनि नेपाली सेनालाई विदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट सुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ ।
सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । विश्वयुद्ध देखि गृहयुद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भूकम्प होस् या कुनै दुर्घटना या अन्य प्राकृतिक प्रकोप, सेना हरेक ठाउँमा पुगिदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि वैदेशिक शान्ति सैनिकका रूपमा नेपाली सेना सर्वत्र चर्चामा छ । सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्ता वाट पनि सेनामा समायोजन गरिएको छ ।
नेपालमा सेना दिवसको सुरुवात
हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कूटनैतिक कौशल सप्तरीको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सकुन् । सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शी र अनुशासित संस्था हो, यसमा आँच नआओस् ।
रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस वर्षको महाशिवरात्रिको सेना दिवसको शुभकामना ।