Public Pana
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका मन्त्रीहरू

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेसँगै प्रदेश सरकारमा प्रतिक्रिया उत्पन्न हुन थालेको छ। सोही अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको कदमपछि आफूले माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री पाण्डेले नेपाल लाइभलाई बताए।

‘दुई जना मन्त्री हुनुहुन्थ्यो। हटाइदिएँ’, उनले भने, ‘मिल्ने सम्भावना भयो भने भोलिका दिनमा पनि फेरि मिल्न सकिहालिन्छ। माथि प्रधानमन्त्रीले कांग्रेस हटाउनुभयो। यहाँ मैले माओवादी हटाइदिएँ।’ 

 

उनले राजनीतिमा मिल्न सक्ने सम्भावना भोलिका दिनमा पनि रहिरहने बताए। ‘राजनीतिमा जे पनि हुँदोरहेछ भन्ने देखिहाल्नुभयो’, उनले भने। 

उनले मन्त्रिपरिषद् पुनर्गठन बारे प्रदेश प्रमुख कार्यालयमा पत्र गएको र स्वीकृत समेत भइसकेको बताए। सो प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सुशीला सिंखडा र रेशमबहादुर जुग्जाली मन्त्री थिए।

माओवादी केन्द्रले सोमबार कांग्रेससँगको सहकार्य छाडेर एमाले लगायतका दलसँग गठबन्धन गरेपछि प्रदेश सरकारहरू पनि नयाँ गठबन्धनबाटै निर्माण गर्ने सहमति भएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update