Public Pana
के हो बयोधा अस्पतालको लापरबाही प्रकरण ?  यसरी गरियाे गलत उपचार


२०७७ कात्तिक ९ मा काठमाडौँको कलङ्की चोकमा गुडिरहेको ट्याक्सीको टायरमा अल्झिएको चङ्गाको धागोले काट्दा चन्द्रागिरि बस्ने पल्लबी श्रेष्ठको दाहिने गोडाको गोलीगाँठामुनि घाउ भएको थियो । त्यसपछि उपचारका लागि पल्लबी बल्खुस्थित बयोधा अस्पतालमा पुगेकी थिइन् ।

बयोधा अस्पतालमा उपचारका लागि पुगेकी पल्लबीलाई डा. अभय यादवले उपचार गर्ने भनी टिकट काटेको भएपनि उनको उपचार भने बिरामीसँग अनुमति नै नलिई डा. शशीकुमार झाले गरेका थिए । घाउका सम्बन्धमा डाक्टरले प्रोपर डायग्नोसिस नगरी उपचार गरेपछि पल्लबीको घाउमा इन्फेक्सन भई दाहिने गोडा हलचल गर्न नसक्ने भएको थियो ।

याे पनि 

बयोधा अस्पतालमा उपचार लापरबाही  : अदालतले दोषी ठहर गर्दै  सुनायो  ५ लाख ५२ हजार क्षतिपूर्तिको फैसला 

बयोधा अस्पतालमा उपचार गराउँदा समस्या बढ्दै गएपछि पल्लबीले ग्रान्डी इन्टरनेसनल अस्पताल र बीएन्डबी अस्पतालमा पनि उपचार गराइन् । तर दुवै अस्पतालमा राम्रोसँग उपचार हुन नसकेपछि पल्लबी भारतको लखनउमा रहेको आहुजा अस्पतालमा उपचारका लागि गइन् ।

बीएन्डबी अस्पतालले सुरुवाती उपचारमा लापरबाही भएको र समयमै थप उपचार नभए गोडा नै चल्न नसक्ने बताएपछि पल्लबी थप उपचारका लागि लखनउ गएकी थिइन् । आहुजा अस्पतालले पनि सुरुवाती उपचारमा लापबाही भएको संकेत दिएको थियो । २०७७ मङ्सिर ५ गते लखनउमा अपरेसन गरेपछि उनी लामो समय त्यहीँ बसेर उपचार र फलोअप गराइन् ।

लखनउबाट नेपाल फर्किएपछि पल्लबीले २०७८ वैशाख १० गते बल्खुस्थित बयोधा अस्पतालले उपचारमा लापरबाही गरेको सम्बन्धमा छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी गरिन् । उजुरी गरेको ८ महिनापछि २०७८ मङ्सिर २० गते काउन्सिलले पल्लबीलाई इमेल पठाएर उपचारका क्रममा लापरबाही भएको जानकारी दिएको थियो । 

याे पनि 

उपचारमा लापरवाही :  पीडितलाई क्षतिपूर्ति नदिई  उच्च र सर्वोच्चसम्म धाएकाे थियो बयोधा अस्पताल

नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरबाही भएको पाइएको रिपोर्ट दिएसँगै पल्लबीले आफ्नो उपचार गर्ने डा. शशीकुमार झा, आफूले उपचार गराउन चाहेको डाक्टर अभय यादव र बयोधा अस्पतालविरुद्ध नै १४ लाख १६ हजार ८३० रुपैयाँको क्षतिपूर्ति मागदाबी लिई काठमाडौँ जिल्ला अदालतमा उपभोक्ता संरक्षण ऐनअन्तर्गत मुद्दा दायर गरिन् । 

पल्लबीले क्षतिपूर्ति मागदाबी लिँदा उपचारका क्रममा खर्च भएको ३ लाख ५२ हजार ८३० रुपैयाँ, थप उपचारका लागि लाग्ने खर्च ३ लाख, कानुन व्यवसायीको खर्च २ लाख र उपचारका लागि हालसम्म १ वर्ष २ महिना छुट्टीमा बसिसकेको कारण तलबबापत प्राप्त हुने कुल ५ लाख ६४ हजार रुपैयाँ गरी कुल १४ लाख १६ हजार ८३० रुपैयाँको क्षतिपूर्ति माग गरेकी थिइन् । पल्लबीले कुरुवाको खर्च, मानसिक तनावबापतको क्षतिपूर्तिको भने मागदाबी लिएकी थिइनन् । 

तर पल्लबीले काठमाडौँ जिल्ला अदालतमा दायर भएको क्षतिपूर्तिको मुद्दाको हदम्याद कटेको भन्दै विपक्षी बयोधा अस्पतालले उक्त मुद्दा खारेज हुनुपर्ने मागदाबी लिई उच्च अदालत पाटनमा रिट दर्ता गरायो । उच्च अदालत पाटनले उपचारमा लापरबाही जानकारी पीडितलाई औपचारिक जानकारीमा आएको मितिबाट गणना गर्नुपर्ने भन्दै मुद्दा हदम्यादभित्रै रहेका कारण नियमअनुसार सुनुवाइका लागि पेस गर्न काठमाडौँ जिल्ला अदालतको नाममा आदेश जारी गरेको थियो ।

बयोधा अस्पताल र उपचारमा संलग्न डाक्टरहरूले भने उपभोक्ता संरक्षण ऐनमा क्षतिपूर्ति दाबी गर्ने हदम्याद ६ महिनाको मात्रै रहेको र पल्लबीले आफ्नो अस्पतालमा उपचार गराएको ६ महिना कटिसकेको भन्दै हदम्याद नाघेर आएको मुद्दा दर्ता गरिएकाले दर्ता खारेज गरिपाऊँ भन्ने माग लिएको थियो । तर बयोधा अस्पतालका डाक्टरले उपचारमा लापरबाही गरेको थाहा पाएको मिति २०७८ मङ्सिर २० गतेका दिनबाट हदम्यादका लागि गणना हुनुपर्ने भएकाले क्षतिपूर्तिको मुद्दा हदम्यादभित्रै रहेको भन्दै पल्लबीले प्रतिउत्तर समेत फर्काएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update