Public Pana
काठमाडौँ उपत्यकामा  दिनभर बदली र वर्षाको सम्भावना

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ। साथै अहिले उपत्यकाका कतै कतै छिटपुट वर्षा पनि भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज दिनभर नै उपत्यकाको मौसम यस्तै रहनेछ। ‘आज दिनभर उपत्यकाको मौसम डिस्टर्ब नै रहने सम्भावना छ, आज घाम लाग्ने सम्भावना छैन’, उनले भने, ‘यहाँ छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।’

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ।  मौसमविद् अर्यालयका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम १२.७ डिग्री सेल्सियस देखिएको हो।

 

‘न्यूनतम तापक्रम बढ्नुको कारण के हो भने राति आकाश बादलले ढपक्क ढाक्यो तर पानी परेन’, उनले भने, ‘पानी परेको भए मौसम चिसो हुन्थ्यो र न्यूनतम तापक्रम घट्थ्यो, बादल मात्र लाग्यो र पानी परेन भने तातो हुन्छ।’

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो।  आज उपत्यकाको अधिकतम तापक्रम भने घट्ने अनुमान मौसमविद्ले गरेका छन्।  आज दिनभर घाम नलाग्ने तथा हल्का भए पनि वर्षा हुने भएकाले अधिकतम तापक्रम घट्ने भएको हो। 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update