Public Pana
नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित

नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले भान डर मर्वको सुरुवाती दुई बललाई कभरको दिशामा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा दोस्रो रन जोड्दा करण रनआउट भए ।

चौथो बलमा दीपेन्द्र बोल्ड भए । पाँचौ बलमा नयाँ ब्याटर प्रतिश जिसी बिट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो ।

दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्कासहित ६३ रन जोडे । करण केसीले ७ बलमा १ छक्कासहित ११ रनको योगदान दिए । यी दुईले सातौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

ओपनर कुशल भुर्तेल इनिङको तेस्रो बलमा खाता नखोली कट बिहाइन्ड भए । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ६५ रनको साझेदारी गरे । आसिफ २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोडेर आउट भए । आठौँ ओभरको पहिलो बलमा भान डर मर्वलाई आक्रमण गर्ने धुनमा उनी स्टम्प आउट भए ।

१२ औं ओभरको दोस्रो बलमा कुशल मल्ल ७ बलमा ११ रन जोड्दै एंगलब्रेक्टको बलमा आउट भए । सोहि ओभरको अन्तिम बलमा रोहित पौडेल पनि पेभेलियन फर्किए । उनले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update