Public Pana
नेपालीका लागि जापानमा खुल्यो रोजगारीको अवसर

जापान सरकारले श्रमिक भर्नाको प्रक्रियामा आफू सामेल हुन अस्वीकार गरेपछि व्यवसायीमार्फत नै स्पेसिफाइड स्किल वर्कर अर्थात् सीपयुक्त श्रमिक पठाइने भएको छ। 

नेपालले जीटूजी प्रणाली अर्थात् सरकारी तहबाटै श्रमिक पठाउने प्रस्ताव गरेको थियो।

तर उक्त प्रस्तावमा जापान सहमत नभएपछि व्यवसायीमार्फत नै जापानमा श्रमिक पठाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

जापानसँग श्रम समझदारी भएको ५ वर्षपछि कार्यविधि तयार भएको हो। सन् २०१९ मै जापानसँग सीपयुक्त श्रमिक पठाउने समझदारी भए पनि कार्यविधि नबन्दा नेपाली श्रमिक जापान पठाउने प्रक्रिया सुरु हुनसकेको थिएन। 

तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानसँग भएको छलफलअनुसार व्यवसायीले नै श्रमिक पठाउने गरी कार्यविधि तयार पारेको हो। उक्त कार्यविधि श्रममन्त्री शरदसिंह भण्डारीले स्वीकृत समेत गरिसकेका छन्।

माघ २५ गते मन्त्री भण्डारीले स्वीकृत गरेको कार्यविधि कार्यान्वयनका लागि मन्त्रालयले परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित जापानी दूतावासमा पठाएको श्रम मन्त्रालयका  प्रवक्ता राजिव पोखरेलले बताए। 

पब्लिक पानासँग कुरा गर्दै उनले यसअघि सन् २०२२ मा नेपाल–जापान संयुक्त कार्यदलको बैठक बसेको र उक्त बैठकमा नेपालले जापानलाई दक्षिण कोरियाकै मोडलमा श्रमिक लैजान प्रस्ताव गरेपनि जापानले श्रमिक पठाउने र माग गर्ने काम सरकारको नभएकाले व्यवसायीलाई नै गर्न दिने गरी कार्यविधि तयार गर्न प्रस्ताव गरेपछि श्रम मन्त्रालयले कार्यविधि तयार गरेको उल्लेख गरे ।

अब वैदेशिक रोजगार व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरेर जापानमा सीपयुक्त श्रमिक पनि पठाउन पाउनेछन्। 

सीपयुक्त जनशक्ति मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको काम गर्न अनुमतिप्राप्त संस्थाहरुले श्रमिक पठाउन सक्ने कार्यविधिमा उल्लेख छ।

जापान जाने सीपयुक्त श्रमिकलाई आवश्यक सहजीकरण, भाषा तथा सीप प्रशिक्षण सञ्चालन गर्न इच्छुक नेपाली संस्थाहरुले कानुनबमोजिम दर्ता भई सञ्चालन भएको हुनुपर्ने कार्यविधिले जनाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update