Public Pana
बालुवाटारमा देउवा - प्रचण्ड स‌वाद :  मन्त्री फेर्न  प्रधानमन्त्रीलाई   देउवाले दिए ‘ग्रीन सिग्नल’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे सहयोग गर्न नेपाली कांग्रेस तयार देखिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र महासमिति बैठक भन्दै पुनर्गठन नगर्ने अडान लिएका थिए । 

अहिले सभापति देउवाले मन्त्रिपरिषद् हेरफेर गर्न कांग्रेस तयार रहेको सन्देश प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिएका हुन् ।

महासमितिको बैठकपछि शुक्रबार बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री प्रचण्डसँग मन्त्री हेरफेरको विषयमा छलफल गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘हामीले राष्ट्रियसभाको निर्वाचन र महासमितिको बैठकको कारणले अहिले हुँदैन भनेका थियौं । अब प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने लाग्यो भने सहयोग गर्ने र बाधा पुर्‍याउँदैन ।’

त्यसो त प्रधानमन्त्री प्रचण्ड आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेपछि कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरुलाई हटाउन चाहेका थिए । तर, देउवाले साथ नदिँदा प्रचण्ड रोकिएका थिए ।

भेटमा देउवाले गठबन्धनलाई मजबुत राख्ने पक्षमा पार्टीले निर्णय गरेको भन्दै आशंका नगर्न आग्रह गरेका थिए ।

महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकबाट पारित गरेपछि गठबन्धनमा आशंका बढेको चर्चा भएको थियो । त्यहीबीचमा प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेसवृत्तमा तरंग पैदा गरेको थियो ।

 दुई नेताहरुबीचको भेटपछि उठेका सबै आशंका मेटिएको उनले दाबी गरे ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update