Public Pana
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रीय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ। 

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बोर्ड बैठकले पूरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ र महिलातर्फ ए ग्रेडमा परेका खेलाडीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो। 

यस्तै पुरुषतर्फ ग्रेड बीका खेलाडीलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो। महिलातर्फ बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो। 

 

पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन्। पुरुषतर्फ ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्। 

यस्तै बी ग्रेडमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा, ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी, ग्रेड डीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् भने इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छन्।

यस्तै महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर, ग्रेड बीमा कविता कुँवर, ग्रेड सीमा पुजा महतो, अश्मिना कर्मचार्य, ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल तथा इमर्जीङमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन रहेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update