Public Pana
सुन तस्करीका मुख्य याेजनाकार  प्लाटिनम कलेज सञ्चालक गुरुङ पक्राउ

प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले  बतायो । 

 

 

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको अनलाइनखबरसँग बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो । 

 

 

प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।

गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।

यसरी समातिएको थियो सुन

तत्कालीन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले विशेष सूचनाका आधारमा २१ मंसिरमा मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानबाट चन्द्र घलेलाई नियन्त्रणमा लिएका थिए ।

विमानस्थल प्रवेश गर्ने वित्तिकै सुन व्यवस्थापन हुने सूचना पाएपछि विमानबाट नियन्त्रणमा लिएर जाँच गर्दा उनको शरीरमा सुनको ७ वटा विस्कुट फेला परेको थियो ।

त्यसक्रममा घलेले आफ्नो काम सुन लिएर आएर अध्यागमनमा रहेको ‘सीआईपी’कक्षको शौचालयमा राख्नु मात्रै भएको बताएका थिए ।  पक्राउ परेपछि भन्सारका अधिकारीहरुसँग बयान दिँदै उनले गोरखाका मीनबहादुर घलेले आफूलाई यूएई पठाएको खुलाएका थिए ।

उनीमार्फत मीनबहादुरको डेराबारे जानकारी पाएपछि प्रहरीको सहयोग लिएर भन्सारको टोली मध्यराति नै धुम्बाराहीस्थित मिनबहादुर बसेको घरमा पुगेको थियो । 

करिब ३ बजे घरबाट उनी पक्राउ परेका थिए । त्यसक्रममा उनले भारतीय नागरिक अंकित र गुरुको संलग्नता खुलाएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update