Public Pana
विश्वकप लिग–२:  नेदरल्याण्ड्ससँग भिड्दै नेपाल 

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपालमा आयोजित सिरिज अन्तर्गत यो अन्तिम खेल हो। 

त्रिवि मैदान कीर्तिपुरमा दुई टोलीबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग-२ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम प्रतिस्पर्धा गर्दैछन्। आठ टिमले कूल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहनेछ भने विश्वकप छनोटमा पनि सिधा पुग्नेछन्। बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले मात्रै लिग-२ मा ३६ खेल खेल्नेछ। ती मध्ये जारी सिरिजमा आजको सहित ४ खेल खेलिसक्दा अब २०२७ सम्म हुने विभिन्न सिरिजहरूका ३२ खेल खेल्नेछ।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित निकाल्दा र दुई खेल हारेको छ। नामिबियासँगका दुवै खेलमा पराजित भएको नेपाली टोली नेदरल्याण्ड्ससँगको पहिलो खेलमा भने विजयी भएको थियो। आज नेदल्याण्ड्ससँगको यो दोस्रो खेल हो।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update