Public Pana
 जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि  लुम्बिनीका अध्यक्षले दिए राजिनामा 


जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।


उनको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि त्यसको समाधानका लागि सो पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राज किशोर यादव आज त्यता लागेका छन् । महाधिवेशनको मुखमा पार्टीमा देखिएको विवादलाई समाधान गर्नका लागि कार्यकारिणी सदस्य राज किशोर यादव त्यसतर्फ गएका हुन् ।

लुम्बिनी प्रदेश कमिटीका एक सदस्यकाअनुसार जसपाका अध्यक्ष यादवले प्रदेश कमिटीसँग कुनै सल्लाह नै नगरीकन मनमौजी ढङ्गले विभिन्न मनोनयन र नयुक्तिहरु गर्ने गरेका छन् । उनले भने, ‘अध्यक्षज्यूले कतिपय यस्ता काम गर्नुभएको छ, जसको जानकारी हामी प्रदेश कमिटीलाई पनि थाहा छैन । त्यही कुरामा चित्त नबुझेर अशोकजीले राजीनामा दिएका हुन् ।’


यो क्रियाकलापप्रति असन्तुष्ट भएर लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग फोनमा कुरा गरेका थिए । फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका थिए ।

उनले राजीनामा पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य रेणु यादव र लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादवको वाट्सएपमा पठाएका छन् । तर हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन ।  

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update