Public Pana
नेपाल टेलिकमद्धारा देशभरका विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट उपलब्ध

नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच हिजो (२०८० फागुन ११ गते) सहमति भएको छ।

सहमति पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन्।

सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुनेगरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ।

टेलिकमकाअनुसार फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ।

त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ।

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलिकमका प्रवक्ता हरी ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

यसबाट यात्रु महानुभावहरुले लाभ लिने अपेक्षा नेपाल टेलिकमले गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update