Public Pana

रामबाबु गुरुङ निर्देशित नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो गीत ‘सुस्त सुस्त‘’ ले सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताको मन जितेको छ ।

हिजो शुक्रवार दिउँसो सार्वजनिक भएको यो गीतको भिडियो पहिलो छ घण्टा नबित्दै एक लाखभन्दा बढी पटक हेरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा दयाहाङ र आँचलको जोडी सुहाएको, केमेष्ट्रि मिलेको प्रतिक्रियाहरु आइरहेका छन् ।

यो गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना छ भने संगीतकार योगी तथा विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ ।

गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्म ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरेको छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर यो फिल्म निर्माण गरेको हो । यो फिल्ममा दयाहाङ र आँचलसहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

आगामी नेपाली नयाँ वर्षमा प्रदर्शन हुने यो फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update