Public Pana
तेस्राे खेलमा नेपाल ‘ए’लाई ४ विकेटले पराजित गर्दै क्यानडाले जित्याे सिरिज

काठमाडाै- क्यानडाले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ। तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै  क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो।

मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे छ।  क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए। किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए। 

यससँगै क्यानडाले ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हाे। क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले आक्रामक सुरुवात दिलाएका थिए। उनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे। अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्दै पाँचौ ओभरमा पेभेलियन फर्केका थिए।

नवौं ओभरमा जोन्सन आउट हुँदा टोलीको स्कोर ५८ रन थियो। दुवै साहब आलमको बलमा विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ आउट भएका थिए।

दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो। तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले। निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए।

त्यसपछि नवनित धलिवल र किर्तनले बलियो साझेदारी गर्दै जितनजिक पुर्याए। छैटौं विकेटका लागि यी दुईले ६७ रनको साझेदारी गरे। धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए। नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो। नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन्। 

 

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो। ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन्।

ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए। लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे।

२१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए। उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे। २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए। उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए। उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो।

राशीदले खान २५ बलमा १९ रन जोडे। सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए।

बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो। त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए। लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए। अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update