Public Pana
गठबन्धनबाट उपलब्धि हासिल भए पनि असन्तुष्टि र चुनौती पनि बढ्याे : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनबाट असन्तुष्टि र चुनौती बढेको बताएका छन्। मंगलबार ललितपुरको गोदावारीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले गठबन्धनबाट उपलब्धि हासिल भए पनि असन्तुष्टि र चुनौती पनि बढेको बताएका हुन्।

‘अघिल्लो प्रतिनिधि सभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरु अन्ततः गत निर्वाचनमा हामी एक भएर मैदानमा गयौं। पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो। र, छ। त्यसैले चुनावमा प्री पोल अलायन्स हुनु सही या गलत भन्ने दुई थरी मतबीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं,’ महामन्त्री शर्माले भने, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’

उनले निर्वाचनमा भोट ट्रान्सफरको विषय चुनौतीपूर्ण रहेको बताए। ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस तीन वटै तहमा पहिलो हुनुमा गठबन्धनको महत्त्वपूर्ण योगदान रहेको पनि शर्माको भनाइ छ। 

 

महामन्त्री शर्माले ७५३ स्थानीय तहमध्ये ३२९ पालिकाको नेतृत्व, प्रतिनिधि सभातर्फ कूल २७५ मध्ये प्रत्यक्षतर्फ ५७ क्षेत्र र समानुपातिकमा ३२ गरी ८९ स्थान र ५५० सीट रहेको प्रदेश सभातर्फ प्रत्यक्षमा १११ र समानुपातिकतर्फ ६४ गरी १७५ सीटमा जीत हासिल गर्दै कांग्रेस पहिलो हुनुमा जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीको जोडबल मुख्य रहेको बताए।

तर, ०७९ को निर्वाचनमा गरिएको गठबन्धनका क्रममा र परिणामपछि उब्जिएको केही प्रश्नमा शुक्ष्म आत्मचिन्तन भने महासमितिमा गर्नुपर्नेमा शर्माले जोड दिए। कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको र तीनको विश्वासलाई पुनः जागृत गर्नुपर्ने बताएका छन्। उनले गठबन्धनमार्फत् पहिलो दल बने पनि समानुपातिकतर्फ २०७४ को तुलनामा करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण पहिचान र निदानको प्रश्न कांग्रेस सामु भएको बताए।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update