Public Pana
पार्टीकाे बैठक चलिरहँदा देउवा र पूर्णबहादुर किन पुगे बालुवाटार ?

 भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद पार्टीभित्र चर्किइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।

महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा प्रस्तुत गर्ने सांगठनिक दस्तावेजमा भविष्यमा कुनैपनि दलसँग चुनावी गठबन्धन नगर्ने उल्लेख छ । त्यसलाई लिएर सभापति देउवाले आपत्ति जनाउदै दस्तावेज परिमार्जन गर्न दबाब दिइरहेका छन् ।

 

महासमितिको उद्घाटन लगतै दस्तावेज परिमार्जनमा समझदारी बनाउन देउवा निवासमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक चलिरहँदा देउवा र खड्का बैठकको बीचबाटै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । देउवा, दाहाल र खडकाबीच करिब आधा घण्टा कुराकानी गरेको स्रोतले बतायो ।

देउवाले महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावलाई सत्ता प्राप्तिसँग जोडेर हेर्ने गरेका छन् । उक्त प्रस्ताव पारित भएमा सत्ता गठबन्धनमै तलमाथि हुनसक्ने भय देउवामा रहेको छ । त्यसैलाई लिएर देउवाले प्रधानमन्त्रीसँग गठबन्धनका बिषयमा महासमितिमा जेजस्ता बहसहरु आएपनि सशंकित नहुन विश्वास दिलाएको स्रोतले बतायो । ‘गठबन्धनका बारेमा कांग्रेसको महासमिति बैठकमा उठेका प्रश्नहरुका बारेमा कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई कुनैपनि शंका नगर्न आग्रह गर्नुभयो’ बालुवाटार स्रोतले भन्यो,‘लामो कुराकानी भएन । तीन जनाबीच छोटो कुराकानी गरेर फर्कनु भयो ।’

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update