Public Pana
रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेर जीबी-रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि बढाएको छ। 

ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

सीआईबीको आर्थिक अपराध हेर्ने पिलरमा कार्यरत रहेर सहकारीकै अनुसन्धान गर्दै आएका इन्स्पेक्टर सहित दुई जनालाई पोखरा पठाएर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले नेपाल लाइभ लाइभलाई जानकारी दियो। ‘विभिन्न टेक्निकल पाटोबारे अनुसन्धानका लागि सहयोग गर्नुपर्ने भनेर माग भएपछि इन्स्पेक्टरको कमाण्डमा दुई जना पठाएका हौं,’ सीआईबी स्रोतले भन्यो।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरमा माघ २४ गते छापा मारेर बरामद भएको चार वटा सर्भरमाथि गहन अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीको टोली पठाइएको स्रोतले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेर चार वटा सर्भर बरामद गरेको थियो। उक्त सर्भरमा सहकारीको सम्पूर्ण कारोबार भेटिएको छ। 

पूर्वडीआईजी जोशीको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिसबाट प्रहरीले ४ वटा सर्भर (डिस्क) मा करिब १० अर्बको कारोबार भेटिएको प्रहरीले जनाएको छ। 

बरामद सर्भरहरुमा पोखराको सूर्यदर्शन सहकारीको मात्रै नभएर चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला ऋण तथा सहकारी, बुटवलको सुप्रिम सहकारीको समेत कारोबारको विवरण देखिएको प्रहरी स्रोतले जानकारी दियो। यो प्रकरणमा अहिले सीआईबी र कास्की प्रहरीले संयुक्त रुपमा अनुसन्धान अघि बढाएका छन्। 

सूर्यदर्शन सहकारीका पीडितहरुले पछिल्लो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३ जना र संस्था समेत गरी १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यो सहकारीका भएको ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।  

 

प्रहरीका अनुसार यी सबै सर्भरहरु पहिले सम्बन्धित सहकारीकै कार्यालयमा थिए। तर प्रहरीले सहकारी विरुद्ध अनुसन्धान अघि बढाएपछि बरामद हुने डरले पूर्वडीआईजी जोशीको घरमा लगेर लुकाएका थिए। सहकारीको सम्पूर्ण कारोबार भएको सर्भर नै फाल्दा वा डिस्पोज गर्दा कर्जा दिएको तथा उठाउन बाँकी रकमको कारोबार समेत नष्ट हुने र रकम उठाउन नसकिने भएपछि उक्त सर्भर लुकाइएको खुलेको छ। 

पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणका मुख्य नाइके जीबीका साझेदार थिए पूर्वडीआईजी जोशी। उनीहरु दुवैको साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो। उनै जोशीको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर लुकाएर राखिएको सूचना प्रहरीले छापा मारेर बरामद गरेको थियो। 

१४ जना अझै फरार
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। १४ जना भने अझै फरार छन्। पक्राउ परेका पाँचै जना भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ परेका थिए। उनीहरु सबैलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएर उनीहरु सबै जना अहिले कारागारमा छन्। 

१९ जना विरुद्ध मुद्दा चलेर पक्राउ पूर्जी जारी भए पनि अहिलेसम्म १४ जना भने फरार छन्। फरार हुनेहरुमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ फरार छन्।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update