Public Pana
कांग्रेस महासमिति बैठक : चार प्रतिवेदन तयार, महामन्त्री थापाकोमा सहमति खोजिँदै

काठमाडाै- नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक औपचारिक रुपमा सोमबार उद्घाटन गरे।

आज उद्घाटन सत्रमात्र भएको र मंगलबारबाट छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेस गरिने कार्यक्रम रहेको छ। 

उनका अनुसार बिहान ९ बजेदेखि बन्दशत्र सुरु हुनेछ। उक्त बन्दशत्रमा चारवटा प्रस्ताव पेस हुने मुख्य सचिव पौडेलले उद्घाटनशत्रमा जानकारी गराए। कांग्रेसको महासमिति बैठकका लागि औपचारिक रुपमा पाँच प्रतिवेदन निर्माण भएका छन्। अनौपचारिक रुपमा पुरक प्रस्तावको रुपमा २२ केन्द्रीय सदस्य र नैनसिंह महरले एक्लै प्रतिवेदन बुझाएका छन्। तर यी दुई प्रस्ताव भने औपचारिक हैनन्।

पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेस हुने भनिए पनि मंगलबार चारवटा पेस हुने तय भएको छ। महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएका थिए। 

त्यस्तै लेखा संयोजक श्याम घिमिरेले लेखा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएका थिए। उनीहरुले आफ्नो जिम्मेवारी अनुसार प्रतिवेदन तयार गरेर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। तर महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा पार्टी सभापति देउवा सन्तुष्ट नभएका कारण छलफलकै चरणमा रहेको छ। 

उक्त प्रतिवेदनमा सहमति जुटाउन आइतबार र सोमबार सभापति र महामन्त्रीले छलफल गरेका थिए। तर उनीहरुकाबीचमा साझा धारणा बन्न सकेको छैन। बिहान बसेको बैठकमा पनि सहमति नभएपछि उद्घाटन शत्रपछि पुन: बैठक बस्ने अनि सहमति खोजेर प्रतिवेदन तयार गर्ने भनिएको थियो। उदघाटन शत्रपछि महासमिति बैठकस्थल गोदावरीमै बस्ने अनि साझा धारणाा तयार गर्ने दाबी संस्थापन पक्षका नेता एवं पार्टी प्रवक्ता मिनबहादुर विश्वकर्माले बताए।

उनले महामन्त्री थापा सभापतिको चाहना अनुसार केही बुँदा संशोधन गर्न तयार नै देखिएकाले बेलुकासम्म प्रतिवेदन तयार हुने र बिहान पेस हुने विश्वास रहेको बताए। सभापति देउवा र थापाकाबीचमा निर्वाचनमा गठबन्धन गर्न हुने वा नहुने विषयमा असहमति रहेको छ। थापाले नेपाली कांग्रेसले भविष्यमा कुनै गठबन्धन नगरी निर्वाचन लगायतका गतिविधिमा सक्रिय हुनुपर्ने भनेका थिए भने देउवा अहिले गठबन्धनको विषयमा छलफल नगरौं भन्ने पक्षमा थिए।

गठबन्धन निर्माण गरी सरकार चलाएको र आफ्नो प्रधानमन्त्री हुने पालो आउन बाँकी नै रहेको अवस्थामा सत्ता गठबन्धनभित्र रहेका दलहरुलाई बिच्क्याउन हुँदैन भन्ने पक्षमा देउवा रहेका छन्। तर थापा भने नेपाली कांग्रेस बलियो बनाउने हो भने एक्लै उभिनुपर्ने दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update