Public Pana
एसीसी महिला प्रिमियर कप क्रिकेट :  फाइनल प्रवेशका लागि  मलेसियासँग प्रतिस्पर्धा गर्दै   नेपाल

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।  

 

 

बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । 

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । 

नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । 

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । 

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update