Public Pana
सरकार विरुद्ध कस्ताे आन्दाेलन गर्दै छ एमाले

नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ ।

बिहीबार बसेको सो पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  

 

 

सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ । राजनीतिक स्थितिको समीक्षा, सङ्गठनात्मक प्रतिवेदन, सङ्गठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

साथै पार्टी निर्माणका सवालमा एमालेलाई व्यवस्थित र बलियो शक्तिका रूपमा स्थापित गर्न सकिने उपायका बारेमा समेत केन्द्रीय समिति बैठकमा छलफल हुने महासचिव पोखरेलको भनाइ छ । 

त्यसबाहेक एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ । महासचिव पोखरेलले भने, ‘सरकारलाई दबाब दिन जनपरिचालन गर्ने बारेमा समेत केन्द्रीय समितिले निर्णय गर्नेछ । 

एमालेले केन्द्रीय कार्यालय भवन बनाउन सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ सङ्कलन गर्ने निर्णय समेत गरेको छ । बैठकले केही विभागमा मनोनयन गरेको भन्दै महासचिव पोखरेलले भने, ‘प्रचार तथा प्रकाशन विभागमा तीनजना थप्ने निर्णय भएको छ । जसमा मणिराज बास्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका छन् ।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update