Public Pana
विश्व सामाजिक मञ्चको बैठक बस्दै

विश्व सामाजिक मञ्चको १६औँ बैठक आज सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतसहित विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधिहरू सहभागी हुने छन् ।

स्विट्जरल्याण्डको डाभोसमा वार्षिक रूपमा आयोजना हुने विश्व आर्थिक मञ्चको विकल्पका रूपमा मञ्चलाई  विकास गरिएको दाबी गरिएको बैठकमा सातवटै महादेशका प्रतिनिधिले भाग लिने बताएको छ ।

‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ७ गतेसम्म चल्ने बैठकमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल केन्द्रित हुने बताइएको छ ।

सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै, वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update