Public Pana
आज फेबु्रअरी १४, भ्यालेन्टाइन डे, सबैलाई शुभकामना

मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको सुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाइन डे ।

पश्चिमी सभ्यताका आयातित ’डे’ का रूपमा आजको भ्यालेन्टाइन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्त्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरूलाई दिन विशेषसँग किन समस्या पर्ला र ? मायाको यो दिवस हामी सबैलाई मिठै लाग्छ  ।

इटलीका सम्राट् क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाइन्छ । करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान–प्रदान गरी यो मायालु दिनको उत्सव मनाईदैछ ।

किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखूँ भन्छु उति उड्छ मन यो
छाया एउटा सधैँ डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नि के मा म भुले ??

यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको छ ।

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौँ तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

तिम्रो मनमा लुकेको कुरा
नबोले पनि
भुली दिने लाई
बिर्सी दिने लाई
माया त मायै हो

त्यो पहिलो प्रेम, स्कुलमा लुकाएर दिएको प्रेम पत्र, घण्टौँ घोरिएर शब्द रोजी रोजी पठाएका क्ःक् हरू, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार । 

आज लुकीचोरी धेरै जनाले आफ्ना मायाका भावनाहरू साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरू सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान् भने कति त्यस्ता प्रेमकथाहरूमा ब्रेक पनि लाग्लान् तर यसको अर्थ संसार सक्किएको होइन, तपाईँलाई माया गर्ने पात्रको खडेरी परेको हैन, शायद! तपाईँलाई धेरै माया अर्कै पात्र अन्त कतै छ कुरी बसेको छ ।

एउटा अचम्मको तथ्य के छ भने, ’संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरू संयोगान्त भन्दा वियोगान्त छन् ।’ अर्थात् माया सहज छैन, उदाहरण कालागि भगवान् श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन, मुना–मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडिलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण । 

ह्याप्पी भ्यालेन्टाइन डे

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update