Public Pana
सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः अध्यक्ष ओली

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम  चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । 

मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज यहाँ उद्घाटन  गर्दै उहाँले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताउनुभयो ।  

सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उहाँको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा  नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको  बताउनुभयो । 

आफ्नो पार्टी  मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “एमालेले मानव अधिकार उल्लङ्घन गर्दैन र त्यसको उल्लङ्घनकर्तालाई संरक्षण गर्दैन ।” उहाँले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहो¥याउनुभयो । 


नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्क्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले सङ्क्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्र्नेेमा जोड दिनुभयो । 

“सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ । मानवअधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्ने छ”, उहाँले भन्नुभयो,  “पीडितलाई मर्का पर्ने खालको कानुन कुनै पनि हालतमा बनाउनुहुन्न । सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन ।”

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update