Public Pana
आज दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, सबै दललाई निम्ता, पूर्वराजा भने चितवन
फाइल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले आज मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ।

काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ।

गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्। 

कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन्। यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो। अहिलेको कार्यक्रम सभामा केन्द्रित छ।

सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन्। मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक दुर्गा प्रसाईं नै रहनेछन्।

प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको छ।

निम्तो त पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दिइएको थियो। अझ उनलाई त अभिनन्दन नै गर्ने अभियानको तयारी थियो। तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर अस्ति आइतबार नै चितवनतिर लागेका छन्। उनले त्यहाँ १६ दिने बिताउने कार्यक्रम छ।

प्रसाईंको कार्यक्रमप्रति पूर्वपञ्चहरूका दल राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन्।

durga1707787630.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update