Public Pana
सरकारद्धारा अर्धवार्षिक बजेट समीक्षा,  आकार नै घट्यो

सरकारले चालू आवको लागि ल्याएको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। योसँगै बजेटको स्रोत घटेको र भएको पैसा पनि खर्च गर्न नसक्ने भएपछि बजेटको आकार नै घटाएको छ। 

यसअनुसार चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकोमा अब १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान गरेको अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा बताए। 

उनका अनुसार यो रकम सुरू विनियोजनको ८७.३८ प्रतिशत हो। संशोधनसँगै चालूतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख अर्थात् विनियोजनको ८८.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात् विनियोजनको ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् विनियोजनको ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ।

चालू वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट ( राजस्व र आन्तरिक ऋण) १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान रहेको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update