Public Pana
शर्त मान्न तयार भएकाले टिकटक खुल्ने सरकारको संकेत

टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।

टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।

टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ । शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सहयोग गर्ने प्रतिबद्धता पनि टिकटकले जनाएको छ ।

पत्रमा शान्तिप्रेमी, विनम्र र सांस्कृतिक विविधतायुक्त नेपाली समुदायले टिकटकलाई आफ्नो प्लेटफर्म ठान्ने गरेको उल्लेख छ । 

टिकटकले नेपालमा टिकटकको ‘सोसियल गाइडलाइन्स’ पालना भए-नभएको हेर्न मात्रै ६० जना जनशक्ति व्यवस्थापन गरिएको जानकारी गराएको छ । 

जसले गर्दा टिकटकको प्रतिबन्ध खुल्ने वातावरण बन्दै जान थालेको सरकारले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update