Public Pana
अधिकांश बैंकहरूले फागुन महिनाका लागि ब्याजदर घटाए (सूचीसहित)

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको छ, जुन ब्याजदर १० वर्षभन्दा माथि अवधिको लागि एनएमबीले प्रकाशन गरेको हो । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकले ८.५० प्रतिशतभन्दा धेरै ब्याज दिने छैनन् ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।

व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.५० प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

बैंकहरुले साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेप नवीकण नगर्ने र केही समय बचतमा पैसा राख्दा बैंकहरूको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रमममा नै रहेको बताउँछन् । 

सूची : 

bank inter-fagun1707718225.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update