पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन्।
राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६, का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए।
उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो।
गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए।
बालिकालाई घरबाट जबर्जस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए।
हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुवाको आरोप छ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो। प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकामा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो।
पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए। परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उनले जानकारी दिए।