Public Pana
चितवनका सोल्टी होटलका ३२ कोठा पूर्व राजा ज्ञानेन्द्रद्धारा बुक
फाइल तस्बिर

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज आइतबार चितवन पुग्ने भएका छन् । परिवारका अन्य सदस्यसहित चितवन जान लागेका पूर्व राजा ज्ञानेन्द्र १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ ।

पटिहानीको सोल्टी होटलमा बस्ने पूर्व राजा ज्ञानेन्द्र नितान्त निजी भ्रमणका लागि चितवनको जात्रामा लाग्न थालेका हुन् । गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए ।

‘गत वर्ष ८ दिन बस्नु भएको थियो, यसपटक १६ दिनका लागि कोठाहरु बुक गरिएका छन्’,  सोल्टी होटलले जनाएको छ । होटलका अनुसार, ‘उहाँको निजी भ्रमण हो, अरु भेटघाटका तालिका बनेको जानकारी छैन ।’ उनी जहाजबाट भरतपुर पुग्नेछन् । उनी चढ्ने सवारी साधानहरु भने यसअघि नै भरतपुर पुगेका छन् ।
चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने स्रोतले जनाएको छ ।

पूर्व राजाको स्वागतका लागि होटल सोल्टीका अध्यक्षसमेत पटिहानी पुगेका छन् ।

पछिल्लो समय तराइ–मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका पूर्व राजा ज्ञानेन्द्रको यस भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियानहरुको पूर्व तयारी हुन सक्ने भएकाले अर्थपूर्ण मानिएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update