Public Pana
ट्रकको ठक्करबाट विराटनगरमा स्कुटर चालकको मृत्यु : ट्रकमा आगजनी

ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । स्थानीयले ट्रकमा लगाइदिएको आगो दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा आगजनी गरेपछि कोशी लोकमार्ग केही समय अवरुद्ध भएको थियो । प्रहरीले अवरुद्ध लोकमार्ग खुलाएको थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update