Public Pana
काठमाडौँमा तापक्रम बढ्दै आज ५ डिग्री सेल्सियस

काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ। 
यस क्रममा आज (आइतबार) बिहान ५ः४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। 

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने शुक्रबार ३‍.५ डिग्री सेल्सियस थियो। 

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् नगरकोटीको भनाइ छ। 

शनिबार उपत्यकाको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियस थियो भने शुक्रबार १८.२ डिग्री सेल्सियस थियो।  

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८ः४५ बजेभित्र न्यूनतम तथा साँझ ५ः४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद्का अनुसार अब देशभरकै तापक्रम बिस्तारै बढ्ने क्रममा जाँदै छ।

किनभने हिउँदयाम (विन्टर सिजन) को अवधि अब यही अंग्रेजी महिना फेब्रुअरी मात्रै हो। यसपछि प्रि–मनसुन सिजन सुरु हुने मौसमविद्ले बताएका छन्। 

अहिले बिहान काठमाडौँ उपत्यकामा पातलो हुस्सु लागिरहेको छ भने मौसम सामान्यतया सफा छ। हुस्सु घाम लाग्दै जाँदा हटेर जाने हो ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update