Public Pana
माओवादी केन्द्रको विधान सम्मेलन प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरूलाई दिएको छ।

हिजो शुक्रबार र आज शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो।

बैठकमा नेताहरूबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘खासगरी केन्द्रीय समितिको बारेमा चाहीँ सबैको एकमत जस्तो भयो। १५१ जनाको प्रस्ताव भएको छ। त्यो ठिक छ भन्ने भयो,’ प्रवक्ता सापकोटाले भने, ‘भोलीबाट केन्द्रिय समिति छ। त्यसमा चाहीँ पार्टीको अभियानको समिक्षा हुन्छ। र विधान सम्मेलन १, २ र ३ मा हुन्छ। सोही विधान सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई पास त त्यो त्यही सम्मेलनले गर्छ।’

बैठकमा नेताहरूले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाले बताए।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update