Public Pana
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले  गरे चार महिनापछि  सरकार विस्तार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले ४ जना मन्त्री तथा २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।  मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीमध्ये प्रदीपकुमार सुनुवारले स्वास्थ्य, रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी, नारायण बुर्जा मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा र राजेन्द्र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, इन्दिरा थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री र सुनिता कुमारी राम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकी छन्।  

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैंले राखेका छन्।  नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेसका हुन्। उनीहरूमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीनजना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन्।  

 

यस्तै, माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन्। वरीयतामा मुख्यमन्त्रीपछि प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन्। गुरुङ दलित कोटाबाट समानुपातिक सांसद बनेकी हुन्।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update