Public Pana
एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड : चार विधाका उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणका लागि विभिन्न चारवटा विधाको उत्कृष्ट आठभित्र परेकामध्येबाट उत्कृष्ट तीनको मनोनयन आज शुक्रबार सार्वजनिक गरिएको छ । 

स्पोर्टस अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मनोनयनमा परेका आठमध्येबाट तीन–तीनजनाको नाम सार्वजनिक गरेको हो । एनएसजेएफ–पल्सर स्पोर्टस अवार्डको २०औँ संस्करण माघ २८ गते काठमाडौँको होटल याक एन्ड यतिमा हुँदैछ ।

उक्त स्पोर्टस अवार्डका लागि मञ्चले विगतमा चार विधामा उत्कृष्ट पाँच–पाँचजनाको मनोनयन सार्वजनिक गर्दै आएको थियो । यसपटक भने मञ्चले चारवटै विधामा पहिलो चरणमा आठ–आठजनाको मनोनयन सार्वजनिक गरेको थियो ।
त्यसमध्येबाट शुक्रबार चारवटै विधामा तीन–तीनजनाको नाम घोषणा गरिएको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अन्तिम तीनभित्र क्रिकेटका आसिफ शेख र रोहित पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी परेका छन् ।

यसैगरी वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा अन्तिम तीनभित्र एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाई तथा बास्केटबलकी अनुशा मल्ल परेका छन् । वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा अन्तिम तीनभित्र एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटा परेका छन् ।

यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा अन्तिम तीनभित्र क्रिकेटका देव खनाल, एथलेटिक्सका राममाया बुढा र बक्सिङका सुष्मा तामाङ परेका छन् । उत्कृष्ट तीनभित्र परेकामध्येबाट अवार्ड कार्यक्रमको दिन विजेताको घोषणा गरिने छ ।

यसपटकदेखि नयाँ प्रयोगको थालनी गरिएकाले सुरुमा आठ र त्यसपछि तीनजना खेलाडीको मनोनयन सार्वजनिक गरिएको जानकारी मञ्चका महासचिव प्रज्ज्वल ओलीले दिए । ‘हामीले यसपटकदेखि नयाँ प्रयासको थालनी गरेका हौँ । अवार्ड कार्यक्रममा देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीलाई समेटन सकियोस भनेर यस्तो गरिएको हो,’ उनले भने ।

क्रिकेटका आसिफ शेख २०७९ सालमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल एक हजार ९३ रन बनाउन सफल खेलाडी हुन् । उनले विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध एक सय १० रन बनाएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सातवटा अर्धशतक बनाउन सफल खेलाडी पनि हुन् ।

एथलेटिक्सका दीपक अधिकारी एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण तथा घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक विजेता खेलाडी हुन् । उनले १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण र सोही प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेका थिए ।

उनले नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । उनले दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण पदक जितेका थिए । उनले कान्तिपुर हाफ म्याराथनमा रजत पदक पनि हात पारेका थिए ।

क्रिकेटका रोहित पौडेल नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने टोलीका कप्तान हुन् । उनले २०७९ सालमा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै चार अर्धशतकसहित ६ सय ७९ रन बनाएका थिए । उनले आयरल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान गरेका थिए ।

महिलातर्फ बास्केटबलकी अनुशा माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत पदक जित्ने टोलीकी सदस्य हुन् । त्यो प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट रजत पदक जित्ने टोलीकी प्रभावशाली खेलाडी पनि हुन् ।

यसैगरी एथलेटिक्सकी पुष्पा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण पदक जित्ने खेलाडी हुन् । उनले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ), नवौँ राष्ट्रिय खेलकुदको महिला १० हजार मिटरमा कांस्य, सहारा हाफ म्याराथनमा स्वर्ण, कान्तिपुर हाफ म्याराथनमा रजत, वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत तथा मदन भण्डारी स्मृति पाँच किमि रोड रेसमा रजत हात पारेकी थिइन् ।

एथलेटिक्सकी राजपुराले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिपको १० किमिमा रजत पदक जितेकी थिइन् । उनले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) पनि हात पारेकी थिइन् ।

उनले नवौँ राष्ट्रिय खेलकुदको महिला पाँच हजार मिटरमा रजत, वीर गणेशमान सिंहमा स्वर्ण र धरान १० किमि रोड रेसमा स्वर्ण हात पारेकी थिइन् । उनले कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माइपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा पनि स्वर्ण चुमेकी थिइन् । उनले नेपालगन्ज म्याराथनको पाँच किमि दौडमा स्वर्ण र राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा रजत जितेकी थिइन् ।

प्रशिक्षकतर्फ एथलेटिक्सका चन्द्र गुरुङले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित ऐतिहासिक पदक दिलाएका थिए । उनले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक चुमाएका थिए । उनले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल एक स्वर्ण र दुई कांस्य जिताएका थिए ।
बक्सिङका दीपक महर्जनले एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक दिलाएका थिए । उनको प्रशिक्षकत्वमा च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल भएकी थिइन् भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य हात पारेका थिए ।

क्रिकेटका जगत टमाटाले नेपाललाई आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आठ वर्षपछि छनोट गराएका थिए । यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पुग्न सफल भएको थियो ।

यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका क्रिकेटका देव खनालकै कप्तानमा नेपाली टोली आठ वर्षपछि आईसीसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको थियो । देवको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।

उनले पाँच खेलको तीन पालीमा ६५ माथिको औसतमा कुल एक सय ९७ रन बनाएका थिए । उनले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा एक सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल भएका थिए । उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता बनेको थियो ।

एथलेटिक्सकी राममाया बुढा १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत पदक जित्ने खेलाडी हुन् । उनले एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण, गोल्डेन एथलेटिक्स मिटको १५ सय मिटर दौडमा स्वर्ण र पाँच किमिमा रजत, देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत, दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत तथा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।

यसैगरी बक्सिङकी सुष्मा तामाङले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत पदक चुमेकी थिइन् । उनले जितेको त्यो पदक नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक हो । उनले फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित गरेकी थिइन् । उनी एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट भएकी थिइन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा बागमती प्रदेशका लागि स्वर्ण जितेकी थिइन् । उनी भारतमा सम्पन्न विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पनि सहभागी भएकी थिइन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update