Public Pana
पाकिस्तानमा  आमनिर्वाचन : २१ सिट जित्दै इमरान समर्थकको अग्रता

पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनावका लागि बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहेको छ।

आज शुक्रबार दिउँसोसम्म विभिन्न आरोपसहित जेलमा हालिएका इमरान खान नेतृत्वको पार्टीका समर्थक स्वतन्त्र उम्मेदवारहरूले जितको अग्रता बनाएका छन्।

जम्मा २६५ सिटमा भएको मतदानपछिको गणनाअनुसार अहिलेसम्म ६३ सिटको छिनोफानो भइसकेको छ।
ताजा अवस्थामा पाकिस्तान तेहरिक इन्सान पार्टीको समर्थनमा मैदानमा उत्रिएका उम्मेदवारले अहिलेसम्म २१ सिटमा जित निकालेका छन्।

अर्कातिर बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले ताजा अवस्थामा २१ सिटमा जित निकाल्दै इमरान समर्थकलाई टक्कर दिइरहेको छ।

उता प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले १८ सिटमा जित निकाल्दै तेस्रो स्थानमा छ।

अहिलेसम्म प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफले उम्मेदवारी दिएका २ मध्ये १ सिटमा पराजय भोगेका छन्।
नवाज मनसेहरा सिटमा पराजित हुँदा लाहौरबाट भने विजयी भएका छन्। लाहौरको जितले भावी प्रधानमन्त्री हुने उनको बाटो बन्द हुनबाट जोगिएको छ। 

अर्कातिर नवाजका भाइ एमव् पाकिस्ता मुस्लिम लिगका अध्यक्ष शाहबाज शरिफ पनि विजयी भएका छन्।
इमरानलाई सत्ताबाट हटाएर प्रधानमन्त्री बनेका उनले लाहौरको एक सिटबाट संसद् यात्रा पक्का गरे। चुनावअ घिसम्म उनै पाकिस्तानका प्रधानमन्त्री थिए।

नवाज शरिफकी छोरी मरियम नवाज लाहौरको एक सिटबाट विजयी भएकी छन्। जहाँबाट नवाज पनि विजयी भए। नवाजकी छोरी विजयी भएको सिटमा इमरान समर्थक उम्मेदवार शहजाद फारूग हारे। 
इमरान जेल गएपछि गत डिसेम्बरमा पीटीआईको अध्यक्ष बनेका गौहर अली खान पनि राष्ट्रिय संसद्मा जित दर्ता गराउन सफल भएका छन्।

तर पीटीआईले आफूहरुको भोट चोरी भएको जनाएको छ। बिहीबार मध्यरातिसम्म पीटीआई सयभन्दा धेरै सिटमा अगाडि थियो।

तर पीटीआईको अग्रतासँगै निर्वाचन आयोगले परिणाम सार्वजनिकमा ढिलाइ गरिदिएको छ। 
इमरानको समर्थन पाएका निर्दलीय उम्मेदवारहरूले पाकिस्तान चुनाव आयोगले जानाजान नतिजामा ढिलाइ गरेको आरोप लगाएका छन्।

पीटीआई अध्यक्ष गौहर अली खानले भोट चोरी हुने भन्दै आफ्ना समर्थकहरूलाई मतदान केन्द्रअगाडि जम्मा हुन अपिल गरिसकेका छन्। 

ताजा परिणामले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update