Public Pana
सुन तस्करी प्रकरण : चिनियाँलाई फाेन गरेकाे महराले गरे स्वीकार

सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। 

अहिले आयोगको सिंहदरबारस्थित कार्यालयमा महराको बयान भइरहेको आयोगका संयोजक आर्चायले बताए। उनले नेपाल लाइभसँग भने, ‘सुन प्रकरणबारे केही सोधपुछ तथा बुझ्नुपर्ने भएकाले उहाँ (महरा)लाई बोलाएर बयान लिइरहेका छौं।’

आयोगले बोलाएपछि महरा बयान दिन सिंहदारबारस्थित आयोगको कार्यालयमा पुगेका थिए। पहिलाको गृह मन्त्रालय भवनमा आयोगको कार्यालय खडा गरिएको छ। सोही कार्यालयमा अहिले महराको बयान भइरहेको छ।

यसअघि भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत महरासँग बयान लिएको थियो। असोज १५ गते साँझ महराको पौने सातदेखि साढे सात बजेसम्म ४५ मिनेट बयान लिइएको थियो। 

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले त्यतिबेला सीआईबीले महराको बयान लिएको थियो। 

चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्विकारेका थिए। वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर विमानस्थलको तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको भन्दै सुन तस्करीवारे जानकारी नै नभएको दाबी गर्दै बयान दिएका थिए।

यता सोही भेपमार्फत भएको ९ किलो सुन तस्करीमा भने महराका छोरा राहुललाई पक्राउ गरेर सीआईबीले मुद्दा चलाएको थियो। उनी अहिले पुर्पक्षका लागि कारागारमा छन्। उनै राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ।

यसैगरी आयोगले सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति तथा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसँग समेत बयान लिइसकेको थियो।  छानबिन आयोगले धमाधम सुन तस्करीमा अनुसन्धान गरेका, तस्करीमा कनेक्सन देखिएका र संलग्न अन्य व्यक्तिहरुको बयान लिन थालेको छ। 

असोज १४ गते मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगलाई पहिलो पटक दिएको समय सकिएपछि २ महिना थप गरिएको थियो। अबको एक महिना समय भएकाले आयोगले सक्रिय रुपमा आफ्नो काम गरिरहेको अध्यक्ष आचार्यले बताए। 

यसअघि आयोगले केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको थियो। बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरिएको थियो।

६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे अनुसन्धान सहित पछिल्लो समय सीआईबीले सुन तस्करीमा गरेको अनुसन्धानका बारेमा समितिले छलफल गरेको अध्यक्ष डिल्लिराज आचार्यले बताए।

तस्करले ६० किलो सुन हङकङबाट र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट सुन काठमाडौंमा ल्याएका थिए। ६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले छलफल गरेका थिए। 

ब्रेक प्याड भित्र लुकाएर तस्करी भएको ६० किलो सुनमा जोडिएका जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले उन्मुक्ति दिएकी थिइन्। 

चलाउने विरुद्ध डिफ्युजन नोटिश जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) पत्राचार गरिएको थियो। सीआईबीको प्रतिवेदनमा उनलाई प्रतिवादी बनाइएको थिएन। सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा चलाउनेलाई प्रतिवादी कायम गरेको थियो।

आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरिसकेका छन्। उनले आफूले अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दायर गरेको जवाफ दिएका थिए। 

यसैगरी जाँचबुझ आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो। सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन्।

६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएपछि उनी सरुवा भएका थिए। आयोगले बुधबार नै सुन तस्करीमा थुनामा रहेका चुडामणि उप्रेती ‘गोरे’सँग बयान लिएको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update