Public Pana
सरकारले सूचना र प्रविधि कानुनको तयारी गरिरहेको सञ्चारमन्त्री शर्माको भनाइ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेको जानकारी दिएकी छन् ।

सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको मन्त्री शर्माले उल्लेख गरिन् ।

काठमाडौँमा आज बिहीबार आयोजित एक कार्यक्रममा उनले नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वयनमा ल्याइएको पनि बताइन् । मन्त्री शर्माले कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका संरचनागत काम पनि अघि बढाउन खोजिरहेको जानकारी दिइन् ।
उनले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसाथ गर्दै आविष्कार र नवप्रवर्द्धनमा जोड दिनुपर्ने बताइन् ।

मन्त्री शर्माको रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसाथ गर्दै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत कानुनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भनाइ थियो । 

‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ, उनले भनिन्, ‘सूचना र प्रविधि असाध्यै धेरै महत्वपूर्ण कुरा हो । नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वयनमा ल्याइएको छ । डेटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेका छौँ ।’
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update