Public Pana
बरफको ढिस्कोमा सुतेको  भालुको तस्बिरलाई प्रतिष्ठित पुरस्कार

पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको 'पोलर बेअर'को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले 'वाइल्डलाइफ फोटाग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड' पाएको छ। सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन्।

"सारिखानीले खिचेको यो आश्चर्यजनक र हृदयस्पर्शी तस्बिरले हामीलाई पृथ्वी कति सुन्दर र संवेदनशील छ भन्ने देखाउँछ, न्याचरल हिस्ट्री म्यूजीअमका निर्देशक डा डग्लस गरले भने।

"उनको यो विचारोत्तेजक तस्बिरले हामीलाई कुनै जीव र त्यसको वासस्थानबीचको अभिन्न सम्बन्ध बुझाउँछ। जलवायुमा भएको तापमान वृद्धि र जनावरको वासस्थानमा पुगेको क्षतिका हानिकारक प्रभावको यो देखिने उदाहरण हो।" 

bear1707374739.jpg

नर्वेको स्पार्भार द्वीपसमूहनजिकै बाक्लो कुहिरो लागेको बेला ध्रुवीय भालु खोज्न तीन दिन बिताएपछि सारिखानी यो तस्बिर खिच्न सफल भएका थिए।

'पीपल्स चोइस अवार्ड'को विजेता छान्न विश्वभरिका वन्यजन्तु फोटोग्राफी तथा प्रकृतिमा रुचि राख्ने मानिसहरूलाई मतदान गर्न आग्रह गरिएको थियो।

यस विधाका लागि छानिएका २५ तस्बिरमध्ये अन्य चार उत्कृष्ट तस्बिरलाई 'हाइली कमेन्डेड' पुरस्कार दिइएको छ।

'प्रसन्न कछुवा': जाही फिङ्कल्स्टाइन

'बाल्कन पन्ड' प्रजातिको कछुवा र 'नोर्दन ब्यान्डेड ग्राउन्ड्लिङ' प्रजातिको झ्यालिन्चा

तस्बिर स्रोत,TZAHI FINKELSTEIN/WPY

जलाशयको किनारमा लुकेर चराहरूको तस्बिर खिचिरहेको बेला फिङ्कलस्टाइनले 'बाल्कन पन्ड' कछुवा पानीमा हिँडिरहेको देखेका थिए।

त्यही बेला अकस्मात् उक्त कछुवाको नाकमा झ्यालिन्चा आएर बसेको थियो।

चराजस्तै आकार बनाएर उडिरहेका चराको बथानः ड्यानिअल डेन्सेस्कु

इटलीको रोमको आकाशमा देखिएको स्टार्लिङको बथान

तस्बिर स्रोत,DANIEL DENCESCU/WPY

डेन्सेस्कुले इटलीको रोम र नजिकै रहेका क्षेत्रमा स्टार्लिङ चराको बथानलाई घण्टौँसम्म पछ्याएका थिए।

हिउँदमा एक दिन बादल नलागेको बेला उनले ती चराको बथान ठूलो चराकै आकार बनाउँदै आकाशमा विचरण गर्दै गरेको फेला पारे अनि यो तस्बिर खिचे।

'मिलीजुली स्याहार': मार्क बोइड

केन्याको मासाई मारामा दुई पोथी सिंह एउटा डमरुको स्याहार गर्दै

तस्बिर स्रोत,MARK BOYD/WPY

कुनै साँझ केन्याको मासाई मारास्थित घना झाडीमा लुकेका पाँच डमरुलाई छाडेर दुई सिंहिनी सिकार गर्न गए। तर उनीहरूले सिकार भेटेनन्।

फर्किएपछि उनीहरूले डमरुलाई खुला घाँसे मैदानमा डाके र तिनको स्याहार गर्न थाले।

'अरोरा जेलिज': अडन रिकर्ड्सन

माथि 'अरोरा बोरिअलिस'को चमक देखिँदा समुद्रमा खिचिएको मून जेलिफिशको तस्बिर

तस्बिर स्रोत,AUDUN RIKARDSEN/WPY

यो तस्बिरमा 'अरोरा बोरिअलिस'को उज्यालोमा उत्तरी नर्वेको त्रम्सोनजिकै समुद्रमा शान्त शारदीय रातमा मून जेलिफिश जम्मा भएको देखिन्छ।

आफैँले बनाएको पानी नछिर्ने खोलमा क्यामरा राखेर 'सिङ्गल एक्स्पोजर' प्रयोग गरी अडनले यो तस्बिर खिचेका हुन्। त्यस क्रममा फोकस र एपर्चर मिलाउन पनि उनले आफ्नै खालको विधि अपनाएका थिए।

यी पाँच तस्बिरहरू आगामी जुन ३० सम्म लन्डनको न्याचरल हिस्ट्री म्यूजीअममा र अनलाइन माध्यममा समेत प्रदर्शनीमा रहने छन्।

(सबै तस्बिरको प्रतिलिपि अधिकार 'वाइल्डलाइफ फोटोग्राफर अफ द यिअर'मा सुरक्षित छ। विविसी नेपालीवाट साभार  ) 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update