Public Pana
सरकार असफल भएको छ : एमाले प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूरै असफल भइसकेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकोतर्फबाट भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन्। 
‘भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने गरी सरकारले काम गरेन। युवाहरूलाई विदेश जानबाट रोक्न सरकार असफल भयो’, उनले भने, ‘विदेश जान राहदानी बनाएर बसेकाहरूलाई सरकार गोली चलाएर हत्या गर्छ।’

गिरीले कमजोरहरूलाई मात्रै थुनेर सरकार स्टन्टबाजीमा लागेको पनि बताएका छन्। ‘कमजोर मान्छेलाई थुन्ने तर बलिया बांगालाई देखेपछि भाग्ने काम सरकारले गर्दैछ’, उनले भने, ‘सुशासनका कुरा कहँबाट गर्नु, एउटा ल्याप्टपलाई ५० हजार डलरमा किन्ने मान्छे अहिले मन्त्री छन्। अख्तियारले बयानमा बोलाउँदा म त जान्नँ भनेर बसेका छन्।’

मन्त्रीहरूले नै अख्तियारलाई नटेरेपछि सरकारले केलाई संरक्षण गरेको प्रष्ट भएको बताए। ‘मन्त्रीहरू अख्तियारले बोलाउँदा जाँदैनन्। सरकारले कसलाई संरक्षण गर्न खोज्दैछ भन्ने यसले प्रष्ट भएको छ।’ उनले भने ।

यसैबीच गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् । 
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् । 

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।

यस्तै उनले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । 

दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update