Public Pana
हुस्सु र कुहिरोले तराई–मधेसको जनजीवन कष्ठ

हुस्सु र कुहिरोको कारण चिसो बढ्दा आज बिहानैदेखि तराई मधेसको जनजीवन प्रभावित भएको छ।

आज बुधबार बिहानैदेखि पूर्वी अधिकांश स्थानमा हुस्सु तथा बाँकी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ। 

हुस्सु र कुहिरो लागेपछि तराई मधेसका जिल्लामा चिसो बढेको छ। कुहिरोसँगै शीतलहर चल्दा सुदूरपश्चिमको धनगढीमा एकैदिन पाँच डिग्री सेल्सिय भन्दा धेरै तापक्रम घटेको छ। 

हिजो बिहान १२ दशमलव ७ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन भएको धनगढीमा आज बिहान न्यूनतम तापक्रम ७ दशमलव २ डिग्रीमा झरेको छ।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा लगायतका क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लाग्दा तापक्रममा गिरावट आएको हो। 
एक किलोमिटर भन्दा कम पारदर्शिता भएको अवस्थालाई कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुनुलाई हुस्सु लागेको भनिन्छ।

बिहानदेखि लागेको हुस्सु र कुहिरो दिउँसोपख क्रमिक रुपमा हट्दै जाने अनुमान महाशाखाले गरेको छ।
तराई मधेसमा लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने अनुमान महाशाखाको छ।

आज बिहान नेपालगञ्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो यही समयमा नेपालगञ्जको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update