Public Pana
बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी सहित ३ जना रिहा
फाइल तस्बिर

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा भएका छन् ।

चौधरीलाई बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले माघ १८ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो । 

सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज बुधबार हिरासतमुक्त गरिएको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा परेका सीजी होल्डिङ्सका अध्यक्ष चौधरीसहित ३ जनालाई त्यसअघि दिइएको ४ दिनको म्याद सकिएपछि अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर सोमबारमात्रै चौधरीलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न अदालतले आदेश दिएको थियो ।

सीआईबीले अरुण चौधरीलाई छोरा करण चौधरीको जिम्मा लगाएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगको जग्गामा चौधरी ग्रुपले खोलेको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई श्रीमती अनिता झाको जिम्मा लगाइएको छ।

उता बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पनि उनका छोराले जिम्मा लिएर गएका हुन्। 


उनीहरू तीनैजनालाई खोजेको बेला उपस्थित हुने शर्तमा रिहा गरिएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update