Public Pana
अर्थतन्त्र लयमा आउन अझै समय लाग्छ : अर्थमन्त्री  डा महत 

काठमाडाै-  अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको दावी गरेका छन् । 
बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र लयमा ल्याउनेकाममा आफू लागेको दावी गरेका छन् । 
उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने पनि बताए । उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लागेको दावी गरे । उनले श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यास भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको  उनले दावी गरे ।  अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । उनले वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे । 
‘अर्थतन्त्र बिस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसैले मलाई लाग्छ । बजेटलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ । किनभने हिजोको दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो ।’ उनले भने ‘०७५ अघि यति प्रतिशत वृद्धि भयो, बिल्डिङहरु बने ठूलाठूला । बिल्डिङहरु बनुन्जेल त बन्यो । त्यहाँ कामदारले काम पनि पायो । रड, डन्डी, सिमेन्ट पनि बिक्री भयो । तर बनिसकेपछि त्यसले दुध दिन छोड्यो । आवश्यकता भन्दा ठूला संरचनाहरु अनुत्पादक र गैरप्राथमिकताको क्षेत्रमा खर्च भयो । अनि धेरै बहुवर्षिय घोषणाहरु भए । एकैपटक ७५३ पालिकामा १५ बेडको हस्पिटल एकै पटक उद्घाटन गर्ने, शिलान्यास गर्ने कुरा भए । बजेट नै विनियोजन छैन ।’ 

ठेक्का पनि लागे बिना सोचीविचारी, दीर्घकालीन दायित्व, आवश्यकता र प्राथमिकता कुरा नगरी धेरै घोषणा भएका कारण समस्या भएको उनले दावी गरे । उनले त्यसको समग्र दायित्व भविष्यको लागि राखिएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको दावी गरे । 
‘पहिल्यै खर्च गरियो, भविष्यमा तिर्ने भनियो ।  अर्बौं रुपैयाँका ठेक्का लगाइए बजेट, विनियोजन ५ प्रतिशतको पनि छैन । अहिले आएर सम्पूर्ण त्यसको तिर्नुपर्ने अहिलेको सरकारले त्यो काम गर्नु परिरहेको छ ’ उनले भने ‘ ठेक्का लिने साथीहरुले कतिपय हामीले रकम पाएनौँ भनिरहेका छन्, त्यसमा कतिपय कानून नै मिलिरहेको छैन । बजेट नै विनियोजन नभएको अवस्थामा ठेक्काको कसरी तिर्नु । अर्को वर्ष मिलाउँला भन्नुपरेको छ । त्यसकारण यस्तो बेथितिबाट हाम्रो बजेटरी सिस्टम गएको थियो, त्यसलाई अनुशासनमा ल्याउने काम शुरु भएको छ । तर समग्रमा हाम्रो अर्थतन्त्र भने लयमा फर्किंदै छ । वाह्य क्षेत्र अत्यन्त सकारात्मक छन्, हिजो श्रीलंका हुन्छ के हुन्छ भन्थे ।’
अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताउनु भयो । माफी गर्नसक्ने आर्थिक श्रोत  देशको नरहेकाले ऋण माफी नहुने बताउनु भयो । केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गर्नुभयो ।

उनले अहिले सहकारीको रुप नै नरहेको जिकिर गर्नुभयो । अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरुले दुरुपयोग गरेको बताउनु भयो । अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताउनु भयो । ठूलो कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताउनु भयो । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रुपमा जानुपर्ने बताउनु भयो ।
 ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि अलिकति सहज भएको छ । यो सहज भएको अवस्थालाई केही न केही राहत भयो भन्ने ठान्नुपर्छ  ’ उनले भने ‘पूरा समस्याको राहत हुनेवाला छैन । न अब ऋण लिएको माफी हुन्छ । सम्भवै छैन । किनभने त्यस्तो माफी गर्नसक्ने हाम्रो आर्थिक श्रोत छैन, क्लिलयर । वचतकर्ताको पैसा विचार जुन दुःख गरेर बचाएको पैसा उनीहरुलाई मारेर दिने कुरा त भएन । भनेसी यो लिएको ऋण तिर्नैपर्छ । जुन राहत दिएको छ, । ’ 
अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गर्नुभयो । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update