Public Pana
अरुण चौधरीसहित तीन जना जमानीमा रिहा हुदै , सिआइबीको  अनुसन्धान के हुन्छ ? 

काठमाडौ–  बाँसबारी छाला जुत्ता कम्पनीको  १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई वुधबार हाजिरी जमानीमा रिहा गर्ने तयारी भइरहेको छ। जिल्ला अदालत काठमाडौको आदेश अनुसार उनीहरुलाई आवश्यक परेको समयमा अनुसन्धानका लागि उपस्थित हुने गरि छोड्न लागिएको हो । 
सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा सिआइबीले पक्राउ गरि पहिलो पटक चार दिन र दोस्रो पटक दुई दिन म्याद थप गरेको थियो । दोस्रो पटक थप गरिएको म्यादमा अदालतले दुईदिनभित्र अनुसन्धान सक्न र हाजिरी जमानीम रिहा गर्न भनेको थियो । अदालतको आदेशपछि उनीहरुलाई रिहा गर्ने तयारी भइरहेको जिल्ला सरकारी बकिल कार्यालयका प्रमुख सन्देश  श्रेष्ठले बताए । ‘अदालतको आदेश कार्यान्वयन हुन्छ ’ उनले भने ।  
थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो।
सिआइबीका प्रवक्ता नवराज अधिकारीले अनुसन्धान चलिरहेको र अदालतको आदेश सम्मान गर्दै आरोपितहरुलाई रिहा गरिने बताए । उनले अनुसन्धानको फाइल भने आज नै वुझाउने सम्भावना नरहेको बताए । सिआइबीले आरोपित तीन व्यक्तिहरुलाई रिहा गरेपनि अनुसन्धान भने जारी राख्ने तयारी गरेको छ । अनुसन्धानमा केही नयाँ पाटो र व्यक्तिहरुको नाममा समेत सिआइबीले अध्ययन गरिएको छ। उक्त जग्गा प्रकरणमा नेपाली काग्रेसका सांसद विनोद चौधरीको नाम समेत आएकाले उनलाई पनि सोधपुछ गर्नसक्ने सम्भावना रहेको छ। 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update