Public Pana
भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौंले मंगलबार थुनछेकबहसपछि ४अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।

गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए।

 

यही मुद्दामा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा यस्तो आदेश आएको हो। 

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update