Public Pana
सचिवको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई बनाए संसदको महासचिव

 राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्। पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् । 

अध्यक्ष तिमिल्सिनाको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिने हुँदा एमालेको चाहनाअनुसार तत्कालीन महासचिव भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेयलाई सिफारिस गरिएको थियो। एमालेको रुची अनुसार सिफारिस गरिएको भन्दै राष्ट्रपति पौडेलले दुई महिना सिफारिस होल्ड गरेर नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा १० बमोजिम रिव्दिकोट गाउँपालिका – १, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ।’

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले  संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त  गरेको जानकारी दिइन् । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update