Public Pana
जापान पुगेर मेस्सीले भने– हङकङमा खेल्ने इच्छा कायमै छ

पछिल्लो विश्कप फुटबलका विजेता अर्जेन्टिनी स्टार लियोनल मेस्सीले जापान पुगेर हङकङमा खेल्न नपाएको प्रति दुःख व्यक्त गरेका छन्।

जापानमा आज मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले हङकङमा खेल्न नपाउनु दुर्भाग्य भएको बताएका छन्।
यसका साथै भोलि जापानिज क्लब भिसेल कोबेसँग हुने खेलमा पनि आफू खेल्न सक्ने वा नसक्नेबारे उनले अनभिज्ञता जनाएका छन्।

‘आज दिउँसो हामी अभ्यास गर्न जाँदैछौँ, हामी फेरि प्रयास गर्नेछौँ। म जस्तो थिएँ, त्यसको तुलनामा अहिले राम्रो अनुभूति भइरहेको छ,’ मेस्सीलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्, ‘म हङकङमा खेल्न नपाउनु साँच्चै दुर्भाग्य हो।’
‘दुर्भाग्यवस, फुटबलमा यस्तो हुन्छ। जुनसुकै खेलमा पनि खेल्न नसक्ने हुन सक्छ,’ उनको थप भनाइ छ, ‘जब हामी टाढा यात्रा गर्छौँ, म त्यहाँ सधैँ भाग लिन चाहन्छु, खेल्न चाहन्छु। किनकि मानिसहरू हाम्रा खेल हेर्न चाहन्छन्।’

पत्रकार सम्मेलनका क्रममा मेस्सीले फेरि पनि हङकङ गएर खेल्न सकिनेतर्फ संकेत गरेका छन्।

उनले भनेका छन्, ‘मलाई आशा छ, हामी हङकङ फर्केर खेल खेल्न सक्छौँ।’

गत आइतबार हङकङमा भएको खेलमा खेल्न नसक्नुको कारण प्रस्ट्याउँदै मेस्सीले भनेका छन्, ‘प्रशिक्षणका क्रममा मैले केही मिनेट खेलेँ र असहज महसुस गरेँ। पछि एमआरआई स्क्यान गर्दा मलाई ‘स्वेलिङ’ भएको थाहा भयो।’

अघिल्लो दिन (शनिबार)को प्रशिक्षणमा मेस्सी सामेल भएका थिए। भोलिपल्ट खेल हुने दिन बिहान मात्रै मेस्सीलाई बेन्चमै राख्ने निर्णय भएको इन्टर मियामीका प्रशिक्षक  गेरार्डो मार्टिनोले यसअघि नै बताइसकेका छन्।

आइतबार इन्टर मियामी र स्थानीय लिग हङकङ इलेभेनबीचको मैत्रीपूर्ण खेलमा इन्टरमियामीले ४–१ को जित निकालेको थियो।

यद्यपि खेलको पूरै अवधिभर मेस्सी बेन्चमै रहेका थिए। मेस्सीको खेल हेर्न लालायित हङकङका दर्शकले मेस्सी नखेल्ने निश्चित भएपछि अधैर्य हुँदै ‘नो मेस्सी, रिफन्ड प्लिज’ लगायतका नारा लगाएका थिए।

मेस्सीलाई खेलअवधिभर बेन्चमै राखिएको प्रति यतिखेर हङकङमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update