Public Pana
न्यायपरिषद् बैठक सकियो : जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रममा केन्द्रित 

न्यायपरिषद्को बैठक आज मंगलबार बिहान बसेर सकिएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलबार न्याय परिषदको बैठक राखेका थिए।

परिषद्का अध्यक्ष एवम् प्रधान्यायाधीश श्रेष्ठले राखेको बैठक बिहान ८ बजेदेखि बसेको थियो।  

यो बैठकले केही न्यायाधीशहरूको सरुवा र केहीलाई कारबाहीबारे छलफल हुने बताइएको थियो। तर यो बैठक न्यायाधीशहरूमाथि कारबाहीको एजेन्डामा नै प्रवेश नगरी सकिएको हो। 

न्यायपरिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरेहको छ। यस्तोमा उनीहरूमाथि थप कारबाही अघि बढाउने अनुमान थियो ।

जिल्लाका ३ र उच्चका १ सहित चारजना न्यायाधीश कारबाहीको सूचीमा थिए। जसमाा एकजनाले राजीनामा दिइसकेका छन्। छानबिन अघि बढेपछि गत माघ ७ गते नै जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिइसकेका छन्।

अहिले जिल्ला अदालतमा १० जना न्यायाधीशको पद रिक्त छ। सर्वोच्चमा पनि १ जनाको पद रिक्त छ। 

यो बैठक जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रममा केन्द्रित रहेको थियो। जिल्ला न्यायाधीशमा लोक सेवा आयोगको विज्ञापनको कोटा छुट्टाएर परिषद्ले नियुक्तिको निर्णय गर्न पाउँछ।

न्यायपरिषद्ले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ न्यायाधीशहरूको काज र सरुवा सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बिहान बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका ३ न्यायाधीशको काज सरुवा सिफारिस गरेको हो।

न्यायपरिषद्ले उच्च अदालत सुर्खेतका रामेश्वर रेग्मीलाई उच्च अदालत पाटनमा काज सरुवा सिफारिस गरेको छ।
त्यसैगरी उच्च अदालत सुर्खेतका काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सरुवा गरिएको छ। 
उता उच्च अदालत तुलसीपुर बुटवल इजालसका विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काज सिफारिस गरिएको छ। 
न्यायपरिषद्ले जिल्ला अदालतका ६ जना न्यायाधीशको पनि सरुवा सिफारिस गरेको छ।

जसअनुसार जिल्ला अदालत कास्कीका ऋषिराम आचार्यको जिल्ला अदालत ललितपुरमा सरुवा सिफारिस भएको छ।
त्यस्तै जिल्ला अदालत सुनसरीका हरिप्रसाद कोइरालाको जिल्ला अदालत कास्कीमा सरुवा सिफारिस गरिएको छ। 

उता जिल्ला अदालत कास्कीबाट अवनी मैनाली भट्टराईको जिल्ला अदालत मकवानपुरमा सरुवा सिफारिस भएको छ।
तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलको जिल्ला अदालत पर्सामा सरुवा सिफारिस गरिएको छ।

रौतहट जिल्ला अदालतका तेजबहादुर खड्काको झापा जिल्ला अदालतमा सरुवा सिफारिस भएको छ।
झापा जिल्ला अदालतका भीमबहादुर निरौलाको सरुवा तेह्रथुम जिल्ला अदालतमा सिफारिस भएको छ।

जिल्ला न्यायाधीशहरूतर्फ नै केहीको काज सरुवा सिफारिस पनि भएको छ। न्यायपरिषद्ले डडेल्धुरा जिल्ला अदालतका जयराम ढकालको जिल्ला अदालत चितवनमा काज सिफारिस गरेको छ।

जिल्ला अदालत नवलपुरका न्यायाधीश बाबुराम सुवेदीको जिल्ला अदालत मोरङमा काज सिफारिस भएको छ।

त्यसैगरि दाङ जिल्ला अदालतका कुलप्रसाद पाण्डे पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सिफारिस भएको छ। 
उता बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुराको जिल्ला न्यायाधीशको हैसियतलेसमेत कामकाज गर्ने गरी तोक्न सिफारिस न्यायपरिषद्ले गरेको छ। 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update